देशको राजनीति कता लैजाने भन्ने चाबी माओवादीसँग छ : प्रचण्ड

स्थानीय तहमा सोचेको परिणाम नआएको भनाइ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीति कता लैजाने भन्ने चाबी जनताले आफ्नो पार्टीलाई दिएको बताएका छन्।

बिहीबार ललितपुर जिल्लाका माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावको नतिजाले माओवादीलाई देशको तेस्रो र निर्णायक शक्ति बनाएको बताएका हुन् ।

‘हामीले त योभन्दा धेरै अपेक्षा गरेका थियौं। देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो। तर बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पालिका मात्र जित्छ भन्ने रिपोर्ट बनाएका थिए,’ प्रचण्डले भने ,‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौं। जनताले नेपाली राजनीतिको धारालाई कता कुन मोडमा लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई दिएका छन्।’

यस्तै प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादीले १७०–१७५ सिट ल्याउने आफूहरूले अनुमान गरे पनि १२२ सिटमा खुम्चिनुपरेको बताए । स्थानीय तह निर्वाचनबाट दोस्रो पार्टी बन्ने आकलन गरिएको समेत उनले सुनाए ।

“हामीले सोचेको जति परिणाम पार्टीको पक्षमा आएन । कम्तीमा पनि योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले राम्रोसँग मिहिनेत गर्दा १७०–१७५ हाम्रो आउँछ, एमालेको पनि १६०–१७० तिर झर्छ, वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ,” उनले भने, “१२२ सिटमा सीमित भएको छ । यो हामीले आकलन गरेको भन्दा पक्कै कम हो ।”

माओवादीको धेरै सिट आयो भनेर बुर्जुवाहरूले जिब्रो टोकेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार