मन्त्री हेरफेर गर्न ज्योतिषको साइत कुर्दै प्रधानमन्त्री देउवा, तनाबमा माधव नेपाल

निर्णय कार्यान्वयमा ढिलाई हुँदा नेकपा एसमा किचलाे

सत्तारुढ दल (नेकपा एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तर दबाब दिएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीले मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो ।
दुई साताअघि नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चारजनाईलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।

सो निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधव नेपाल लगायत नेताहरुले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिएका छन् । तर प्रधानमन्त्री देउवा भने मन्त्री हेरफेर गर्नका लागि ज्योतिषको साईतलाई पर्खेर बसेका छन् । प्राय जसो काम गर्नका लागि ज्योतिषलाई साइत हेराउने प्रधानमन्त्री देउवाले यो पटक मन्त्रीहरु हेरफेर गर्नका लागि पनि ज्योतिषको सल्लाह लिएका हुन् । ज्योतिषले तत्काल मन्त्रीहरु हेरफेर गर्न उचित नहुने भनेपछि देउवाले नेकपा एसका नयाँ मन्त्रीहरुको सपथ रोकेको बालुवाटार स्रोतले बताएको छ ।

यता नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पनि देउवाले ज्योतिषको साईत पर्खेर बसेका कारण मन्त्री हेरफेरको निर्णय तत्काल कार्यन्वयन हुन नसकेको बताए । टिभीअन्नपूर्णसँगको कुराकानीमा उनले भने ‘प्रधानमन्त्री देउवा प्राय काम गर्नका लागि ज्योतिषको सल्लाह लिनुहुन्छ । मन्त्री हेरफेर गर्नका लागि पनि ज्योतिषको सल्लाह लिनुभएको रहेछ । त्यसैले उहाँले मन्त्रीहरुको सपथ रोक्नु भयो । ज्योतिषले केही दिनपछि मन्त्रिपरिषद् हेरफेर गर्ने साइत निकालेको कुरा छ । सायद अबको केहि दिन पछि मन्त्रिपरिषद् हेरफेर हुन्छ ।’

यसविषयमा काँग्रेसका नेताहरुसँग बुझ्दा उनीहरुले केहि जानकारी नभएको बताए । ‘यो विषयमा केहि जानकारी छैन ।तर प्रधानमन्त्री देउवाले प्राय काम गर्दा ज्योतिषको सल्लाह लिने हुँदा मन्त्री हेरफेरको विषयमा पनि सल्लाह लिएको आशंका गरिएको हुनसक्छ ।’ काँग्रेसका एक नेताले भने ।

यता देउवाले तत्काल मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नगरेपछि नेकपा एसमा भने विवाद सुरु भएको छ । बहालवाला मन्त्रीहरुले पार्टीको सो निर्णय बारेमा सुरुमा नै आफू अनविज्ञ भएको बताउँदै असन्तुष्टि जाहेर गर्दै संघीय संसदको निर्वाचनसम्म निरन्तरता पाउनु पर्ने बताउँदै आएका छन् । तर, अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवासँगको भेटमा दबाब बढाउँदै आएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले बजेट अधिवेशन समापन नभएसम्म मन्त्रीमण्डल हेरफेर नगर्ने बताउँदै आएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाल जानकारी दिए ।

उनले भने ‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ । उहाँको आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्नु हुन्न भनेर हामीले भनेका छौँ । तर मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिनु भएको छ ।’
नेकपा एसले मन्त्रीहरु हेरफेर गरेसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपालाई पनि मन्त्री हेरफेर गर्न दबाब परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार