राष्ट्रियसभाका उम्मेदवार खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने

बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार रहेका खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन र सहयोगमा उम्मेदवारी दिएकोले यसमा पुनर्विचार गर्ने कुरा कल्पनाबाहिर रहेको देवकोटाले बताएका छन् ।

एमालेभित्र देखिएका विवाद पछिल्लोसमय समाधान उन्मुख रहेपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने चासो थियो । संघीयताविज्ञ रहेका देवकोटा नेता माधव नेपाल निकट मानिन्थे । ‘राजनीतिक दलहरुले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु बिना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी यही विचारबाट अभिप्रेरिता छ’, देवकोटाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफ्नो चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह समेत गरेका छन् ।

बागमतीमा देवकोटा, गृहमन्त्री रामबहादुर थापा बादल र नेमकिपाका कृष्ण तामाङ उम्मेदवार छन् । थापा एमालेका तर्फबाट सूर्य चिन्हमा उम्मेदवार हुन् । देवकोटा स्वतन्त्र रूपमा कलम चिन्ह लिएर चुनाव उठेका छन् । २०७४ सालमा भएको निर्वाचनमा थापा माओवादी केन्द्रबाट विजयी भएका थिए । एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार