बढुवा नगरेको भन्दै नबिल बैंकका कर्मचारीको विरोध, आन्दोलन गर्ने चेतावनी

नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात् नबिल बैंकका कर्मचारीहरुलाई यथास्थितिमा नै राखेको भन्दै नबिल बैंक कर्मचारी संघले विरोध जनाएको छ । एनबी बैंकका कर्मचारीलाई समेत लेभल नघट्ने गरी मर्जरपछि समायोजन गर्ने नयाँ सहमतिप्रति नवील बैंकका कर्मचारीहरुले विरोध जनाएका हुन् ।

नबिल बैंक कर्मचारी संघले बैंकका सीइओलाई असार ६ गते एक पत्र लेख्दै नयाँ सहमतिप्रति विरोध जनाएको हो ।  अध्यक्ष सविन भट्टराईले लेखेको पत्रमा नबिल बैंकका कर्मचारीहरु एनबी प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहे पनि उल्टो मनोबल गिर्ने गरी नयाँ सहमति भएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने प्रष्ट पारेका छन् ।

‘नबिल बैंकको क्षमता र प्रतिष्ठालाई उँचो बनाउने अहोरात्र खट्ने कर्मचारीहरु अर्को बैंक प्राप्तिपश्चात् पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आसमा बसीरहँदा बैंकले यथास्थितीमा नै प्राप्ति गरेको कर्मचारीसरह व्यवहार गर्नु दुभाग्यपुर्ण हो ।’ पत्रमा भनिएको छ, ‘यस्तो परिस्थितीको कर्मचारी संघ जोडदार विरोध गर्दै नबिल बैंकमा नेपाल बङ्गलादेश बैंक लिमिटेड प्राप्तिपश्चात् कर्मचारीहरुको हक हितमा सिन्को नभाच्ने र कर्मचारीहरुलाई केवल प्रयोग मात्र गर्ने व्यवस्थापनको गलत प्रवृतीप्रति खेद व्यक्त गर्दछौं ।’

बैंकिङ क्षेत्रमा लामो समयदेखि अग्रणी स्थानमा रहेका नवीलका कर्मचारीहरु सोसरह एनबीका कर्मचारीलाई पनि पद दिने सहमतिप्रति संघले आक्रोश व्यक्त गरेको छ । यसले नबिल कर्मचारीको मनोबल गिर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

नबिल बैंक कर्मचारी संघले हाल फाइल बढुवाको रोलक्रममा रहेका, ग्रेडको सीमा छोइसकेका कर्मचारीको हकमा २ तह र अन्यको हकमा १ तह स्वतः बढुवा गरी न्यायिक र भावनात्मक रुपमा यथोचित सम्बोधन गर्न कडा आग्रह गरेको छ ।

संघले आफ्ना माग पूरा नभए तत्काल आन्दोलन थाल्ने समेत चेतावनी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार