टाटा मोटर्सले आफ्नो प्यासेन्जर गाडीहरुको मूल्य बढाएको छ। कम्पनीले यस सेगमेन्टका गाडीहरुको उत्पादनस्थल (फ्याक्ट्री) मूल्यमा वृद्धि गरेको हो।
सवारी साधन निर्माण एवम् उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ तथा अन्य वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढेका कारण मूल्य बढाएको कम्पनीले जनाएको छ।
गाडी उत्पादनको खर्च पनि बढेका कारण मूल्य बढ्न गएको कम्पनीको भनाइ छ। त्यसमध्ये प्यासेन्जर गाडीको मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ।
कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो। यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रोपटक हो।
टाटाले यसपटक नेक्सन इभीसहित भारतीय बजारमा लोकप्रिय टियागो, पन्च, ह्यारिअर लगायतका गाडीहरुको उत्पादन मूल्य समायोजन हुने बताएको छ।