छटपटाएर ज्यान गुमाउँदै संक्रमित, लाचारी प्रदर्शन गर्दै मन्त्री

सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन् । प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन् ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको पछिल्ला गतिविधिबाट उनी कोरोना संकटप्रति बेपर्वाह देखिएको पुष्टि हुन्छ । साह बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई लिएर दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित विभिन्न मन्दिर तथा पर्यटकीय स्थल घुमफिरमा व्यस्त भए ।

मन्त्रीद्वयको व्यस्तता सप्तरीस्थित बैरवाको विवाह मण्डप, योगिनियाको बोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षणमा देखियो । प्रदेशको स्वास्थ्य अवस्थाको जिम्मेवारी समालेका सामाजिक विकासमन्त्री साहको गृहजिल्ला सप्तरीमा कोरोना संक्रमण तथा मत्युदर डरलाग्दो गरी बढेको छ । संक्रमितको एकमात्र सहारा गजेन्द्रनारायण सिंह अस्पतालको अवस्था बेहाल छ । आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्ने जनशक्ति संक्रमित भएर आफैंं उपचारमा छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार