हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । आजको खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा बलियो प्रतिस्पर्धी युएईको सामना गर्ने छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्यो ।

हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट भइन् ।

नताशा माइल्स २८ रनमा र पाँचौं क्रममा आएकी सानेज सहजाद ४ रनमा अविजित रहे । चौथो क्रममा क्लेरी च्यान १७ रनमा संगिता राईबाट बोल्ड आउट भइन् । नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिइन् ।

यसअघि मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाइन् । विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाइन् ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपाल यो खेलमा पराजित हुँदै सेमिफाइनलमा युएईको सामना गर्ने पक्का भएको छ । समूह ‘ए’ को विजेता युएई नेपालको लागि बलियो प्रतिस्पर्धी हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार