‘प्रहरीमाथि हस्तक्षेप होइन, स्रोतसाधन सम्पन्न गराउनुपर्छ’

प्रतिनिधिसभाका सांसदहरुले प्रहरीलाई प्रविधियुक्त र स्रोतसाधन सम्पन गराउनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन तथा सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न दिन सरकारसँग माग गरेका छन् ।

उक्त प्रस्तावमाथि विचार गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले सदनमा प्रस्तुत गरेका थिए । छलफलमा भाग लिँदै उनहरुले प्रहरीमाथि हुने हस्तक्षेप बन्द गर्न पनि आग्रह गरेका छन् । प्रस्तावको सैद्धान्तिक विषयमा छलफल गर्दै सांसद नवराज सिलवालले महानगरीय प्रहरी प्रणालीको अवधारणा आवश्यक भएको र त्यसले मात्रै उत्कृष्ट काम गर्नसक्ने बताए । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन उनले अनुरोध गरे । प्रहरीमा राजनीतिकरण गरेर मनपर्दीरुपमा सरुवा बढुवा गरिएकाले प्रहरीको मनोबल गिर्दो रहेको पनि उनले बताए ।

छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले अध्यागमन विभागले अनुसन्धान गर्ने विषयमा नेपाल प्रहरीले पनि अनुसन्धान गर्दा दोहोरो पर्छ भनेर त्यसलाई हटाउने गरी ल्याइएको भन्दै यसतर्फ गम्भीर छलफलको आवश्यकता औँल्याए । उनले यसरी हटाउँदा दीर्घकालीन असर पर्न सक्ने भन्दै त्यस विषयलाई दीर्घकालीनरुपमा सोच्न अनुरोध गरे । प्रदेशमा उनले प्रहरी अतिरिक्त महानिरीक्षक राख्न सुझाव पनि दिए ।सांसद दिव्यमणि राजभण्डारीले प्रहरी, सेना, अध्यागमन विभागसँग समन्वय गर्ने कुनै नयाँ निकाय आवश्यक रहेको उल्लेख गरे । राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति नभएर निष्क्रिय रहेको भन्दै उनले सदनको ध्यानाकर्षण गराए । सांसद गङ्गा चौधरीले प्रदेश प्रहरीलाई अधिकार सम्पन्न बनाउन सुझाव दिइन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार