केपी ओली नेतृत्वकै निरन्तरता, बिपक्षीको प्रयास असफल

कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने

नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा लागेको विपक्षी गठबन्धनको प्रयास असफल भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जसपा सहितले बहुमत जुटाएर वैकल्पिक सरकार गठनको दावी गर्ने तयारी गरेपनि जसपाभित्रको विवादका कारण प्रयास असफल भएको हो । यो सँगै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा दिएपछि संसदमा कायम सङ्ख्याका आधारमा बहुमत पु-याउने अपेक्षासहित नेपाली काँग्रेस र माओवादी केन्द्रले अन्तिम समयसम्म प्रयास गरेपनि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका छन । यस्तो अवस्थामा बहुमत पु¥याएर वा अल्पमतकै सरकारको रुपमा केपी ओली नेतृत्वको सरकारको निरन्तरता हुने स्पष्ट देखिएको छ ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

३२ (दुई निलम्बित)सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् ।

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।

सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन । किनकी बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार