नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव अहिले सम्म किन अगाडी नबढाएको भनेर प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा पण्डितले महाअभियोग लगाउने सांसद हराएका छन् कि संसद्मै छन् भनेर प्रश्न समेत गरेका हुन् ।
प्रतिनिधिसभाले गठन गरेको संसदीय महाभियोग सिफारिस समितिका सदस्यसमेत रहेका पण्डितले महाभियोग सिफारिस किन अगाडि नबढ्नुको कारण र त्यसमा सभामुखको धारणाबारे प्रश्न गरेका छन् ।
‘महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ? महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि ?’ उनले प्रश्न गरे ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन ।