कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक छ : विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताएकी छन् । उनले समाजलाई असल मार्गमा निरन्तर डो¥याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताएकी हुन ।

राष्ट्रिय नाचघरको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘स्वर्ण महोत्सव उद्घाटन विशेष कार्यक्रम’ मा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सोका लागि सांस्कृतिक संस्थान एवं विभिन्न राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले पारस्परिक सहयोग र समन्वयका आधारमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

‘कला र संस्कृति कुनै पनि राष्ट्रको विशिष्ट पहिचान हो । समकालीन विश्वमा कुनै मुलुकको सभ्यता कति समृद्ध छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवद्र्धनका लागि त्यहाँको समाज र राष्ट्रले कसरी योगदान गरिरहेको छ भन्ने दृष्टिबाट समेत मापन गरिँदै आएको छ । यस सन्दर्भमा नाटक, गीत–सङ्गीत, नृत्य, वाद्यवादनलगायत प्रस्तुतिजन्य कलाका विभिन्न विधाले नेपाली मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योगदान अमूल्य छ । यसैले, नेपाली रङ्गमञ्च, सङ्गीत र नृत्यकलालाई समुन्न्नत बनाउन योगदान गर्ने स्रष्टा र नेतृत्वकर्तामा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नेपाल राष्ट्रले तपाईंहरुको सिर्जनामा गर्व गर्दछ, गरिरहनेछ’, उनले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार