पूर्व गाविस अध्यक्षसहित बागलुङमा एकैदिनमा तीन जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देव प्रकाश घिमिरिले बताए । उनमा कोभिड निमोनियाको समस्या थियो ।

यस्तै, गलकोट नगरपालिकाका–२ का ५२ वर्षिय पुरुषको पनि धौलागिरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनको पनि सघन उपचार कक्षमा उपचार भइरहेको थियो । अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलका अनुसार उनमा कोभिड निमोनियाको समस्या थियो । केही दिनदेखि उनको स्वास्थ्य अवस्था स्थिर थियो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको पनि बिहिबार नै मृत्यु भएको छ । उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि लामो समय उनी अस्पताल आएका थिएनन् ।

Loading...