मल बोकेका २ वटा ट्रक धार्केमा किसानले खोसे, व्यापारीले लुट्न लगाएको आरोप

अवैध रासायनिक मल बोकेर काठमाडौँतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । सशस्त्र प्रहरी बलले बरामद गर्न लागेको उक्त मल लुटिएको छ ।

मल बोकेको ट्रकलाई धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा राजमार्गछेउमा रोकेर किसानहरूले रासायनिक मल झिकेर लगेका हुन् ।
अवैध रासायनिक मल लिएर आएका ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रवार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । भन्सार छली गरेर ल्याउँदै गरिएका दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।

गहुँ र सिमेन्टको कागज बनाएर दुईवटा ट्रकमा रासायनिक मल ल्याइएको पाइएपछि विभागले हिजो नियन्त्रणमा लिएको थियो ।
त्यसपछि उक्त ट्रकलाई आज सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौँतर्फ ल्याइँदै गरेका बेला किसानहरूले ट्रक रोकेर मल खोसेका हुन् ।

शनिवार दिउँसो मल बोकेको ट्रक काठमाडौँतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४–५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरूमाथि कुटपिट गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिब ५ सय जना किसानले मल लिएका छन् ।

विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ‘लुट्न लगाएको’ किसानहरूले बताएका छन् ।

राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार