नेपालले नचाहेको खण्डमा एसपीपी सम्झौता रद्द गर्न सक्छ : अमेरिका

एसपीपी आज सम्म बेलारूसले मात्रै रद्द गरेको छ

संयुक्त राज्य अमेरिकाले नेपालले स्टेट पार्टनरशीप पोग्राम एसपीपीमा सहभागी हुन नचाहेको अवस्थामा आफ्नो देशलाई त्यसको जानकारी दिएर आफ्नो आबद्धता अन्त्य गर्नसक्ने बताएको छ।

नेपाली सेना र अमेरिकाको यूटा न्याश्नल गार्डबीच आपसी सहयोग र तालिम आदानप्रदानका लागि अघि बढाइएको भनिएको उक्त साझेदारीबारे परस्पर विरोधी मतहरू बाहिर आएपछि काठमाण्डूस्थित अमेरिकी दूतावासको पछिल्लो भनाइ आएको हो।यसैबीच नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले एसपीपी कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै सन् २०१५ मा काठमाण्डूस्थित अमेरिकी राजदूतलाई लेखेको पत्र सार्वजनिक भएको छ।

नेपाली सेनाका प्रवक्ताले उक्त पत्र विनाशकारी भूकम्पपछिको पृष्ठभूमीमा विपद्पछिको प्रतिकार्यमा सहयोग लिने उद्देश्यले लेखिएको र कुनै सैन्य सम्झौता गर्ने उद्देश्य त्यसले नराखेको बताएका छन्।

काठमाण्डूस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारी म्यानुअल पी मिकालरले स्टेट पार्टनरशीप कार्यक्रममा आबद्ध भएका करिब ९० मुलुकमध्ये बेलारूसले मात्रै आफ्नो सहभागिता अन्त्य गरेको बताए।

एक प्रेस विज्ञप्ती मार्फत् उनले भने, ‘कुनै देशले संयुक्त राज्य अमेरिकालाई अब हामी यो कार्यक्रममा भाग लिन चाहँदैनौँ भनेर जानकारी मात्र दिए पुग्छ।

उनले एसपीपीबारे नेपालले गरेको अनुरोध अमेरिकाले स्वीकार गरेको भएपनि त्यस अन्तर्गत हालसम्म कुनै गतिविधि नभएको बताएका छन्।त्यस्ता कुनै गतिविधि नेपाल सरकारको अनुमतिमा मात्रै हुने उनको भनाइ छ।अमेरिकी दूतावासको नोटमा नेपालले सन् २०१५ र सन् २०१७ मा पठाएको अनुरोधमा सरकार, सेना र सैन्य नेतृत्व संलग्न रहेको उल्लेख गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार