ओली र नेपालबीच भेटवार्ता हुने, माग पूरा गर्न अध्यक्ष ओलीलाई साढे ४ बजेसम्मको समय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुने भएको छ । बिहीबार बिहान बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेकै बेला अध्यक्ष ओलीले नेता नेपालाई फोन गरेर भेट्ने प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्तावमा नेपाल सकारात्मक भएपछि बिहीबार नै भेटवार्ता हुन लागेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामूहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता नेपालले आफू निकट नेताहरुलाई स्पष्ट पारेका छन् ।

अबको केहिबेरमा ओली र नेपालबीच वार्ता हुने र वार्तामा कुरा मिल्यो भने ठीकै नभए आफ्नो तर्फबाट सामूहिक राजीनामा दिने तयारी भएको माधव नेपाल निकट स्रोतले बतायो । यसैबीच, आजै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षको स्थायी कमिटी बैठक राखेका थिए । सो बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने निर्णय गरेको छ । बैठकले नेपालसहित रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

उक्त माग पूरा गर्न अध्यक्ष ओलीलाई साढे ४ बजेसम्मको समय दिएको नेता भीम रावलले जानकारी दिए । साढे चार बजेसम्म माग पुरा नभए सांसदहरुले राजीनामा दिने उनको भनाई छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन दिएको तीन दिनको समय आज ९ बजे राती सकिँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार