युवती परिचालन गरेर संगठित ‘हनी ट्रयाप’को धन्दा

नक्कली पत्रकार र वकिल बनेर बार्गेनिङ

युवती प्रयोग गरेर संगठित रुपमा ‘हनी ट्रयाप’को धन्दा चलाउने ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलाञ्चोक घर भई पेप्सिकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७ सुनसरी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी र मेलुङ–५, दोलखा घर भई हाल नखिपोट बस्दै आएका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीकोे प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगी भेटघाट गर्ने खुलेको छ ।

निमा लामाले सोह्रखुट्टेमा ‘ब्लु बार’ नामको डान्स बार संचालन गरेका थिए । रेष्टुरेण्ट चल्न छाडेपछि उनले पैसा कमाउने नयाँ उपाय सोच । अनि, आफ्नै डान्समा काम गरेकी मनिषा र निकितालाई परिचालन गरेर ‘हनी ट्रयाप’ धन्दा चलाउन शुरु गरे ।
अधवैशे उमेरका पुरुषलाई मनिषाले समाजिक संजाल फेसबुक मार्फत साथी बनाउँथिन् । अनि, भेट्ने प्रस्ताव उनैले राखेपछि पुरुषहरु सहमत हुन्थे । गोदावरी, ठमेल र कोटेश्वर क्षेत्रमा पुरुषसँग भेट्थिन् । भेट्नासाथ उनले टाउको दुखेको बहाना बनाउँथिन् । एकान्तमा लैजान्थिन् । अस्वभाविक रुपमा नजिकिन्थिन् । अनि, पुरुषले सामान्य यौनिक व्यवहार प्रदर्शन गरेपछि उनी रिसाएर हिँड्थिन् ।

मनिषा परियार र हनी ट्रयापमा पारेर बोलाएको पुरुषलाई निमासहितका समूहले निगरानी गरिरहन्थे । युवती रिसाएर हिँडेपछि पुरुष पनि हिँड्छन् । अनि, उनलाई अरु पाँच जनाले पछ्याउँछन् । पछ्याएर घर अथवा कार्यालय पत्ता लगाउँथे । उपत्यका अपराध अनुसन्धान त्यसपछि फोन गरेर बार्गेनिङ गर्ने र पैसा लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सो समूहले ‘बलात्कार’ मुद्दा लगाउँछौ भनेर मानसिक तनाब दिने गरेका थिए । हालसम्म उनीहरुले ४ जनालाई ब्ल्याकमेल गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । आरोपीहरुलाई प्रहरीले ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार