स्थानीय निर्वाचनमा माओवादीले नै जितेको जस्तो अनुभूति भएको छ: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन एमाले, कांग्रेसले जसले जिते पनि आफैँले जितेको जस्तो अनुभूति भएको बताएका छन्। शुक्रबार चितवनमा समृद्ध भरतपुरको आगामी कार्यदिशाका विषयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

प्रचण्डले कसले कति जित्यो अरूको लागि त्यो ठूलो कुरा भए पनि आफ्नो लागि नभएको भन्दै प्रचण्डले चुनाव हुनु नै आफ्नो जित भएको बताएका हुन् ।

‘देशनै चुनावमा जान्छ जाँदैन भन्ने भएको थियो । पोहोर साल संविधान नै च्यातिने हो कि र परिवर्तनै प्रतिगमनमा जाने हो कि भन्ने थियो,’ उनले भने, ‘त्यसलाई सच्याएर चुनाव सफलतापूर्वक सम्पन्न भएपछि अहिले त नेपाली कांग्रेसले जिते पनि मैले नै जितेको जस्तो लाग्छ, समाजवादीले जिते पनि मैले नै जितेको जस्तो लाग्छ, एमालेले जितेको पनि मैले नै जितेको जस्तो लाग्छ । ’

कार्यक्रममा उपस्थितलाई प्रश्न गर्दै प्रचण्डले भने, ‘मेरो बुद्धि बिग्रिएको हो कि, साँच्चै हो, तपाईंहरू विचार गर्नुस् ।’ उनले थपे, ‘यो अर्थमा भन्दै छु कि पाँच वर्ष दह्रोसँग स्थानीय तह बन्यो, अब कसैले भत्काउन सक्दैन । कसैले यसलाई प्रतिगमनतिर लान सक्दैन । त्यस अर्थमा मैले नै जितेको जस्तो लाग्छ । ’

प्रचण्डले प्रदेश र संघको निर्वाचनसम्म पनि हामीसँगै जान्छौँ । प्रचण्डले भने, ‘शान्ति प्रक्रिया टुंगाउने सँगै विकासको नयाँ युगमा जानेतर्फ पनि हामी सामूहिकतामा जान्छौँ । अहिले देशमा एक्लै हिँड्ने प्रवृत्ति र मिलेर हिँड्ने प्रवृत्तिबीच लडाइँ परेकोसमेत उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार