ओलीसँग गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माले गरे भेटवार्ता

नागरिकता विधेयकबारे छलफल

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेटवार्ता गरेका छन् ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा पुगेर गृहमन्त्री खाँण र कानुनमन्त्री भेटर्वाता गरेका हुन् । भेटमा नागरिकता विधेयक संसद्को चालु अधिवेशनमा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुनमन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थियौँ । कुराकानी सकारात्मक भएको छ,’ गृहमन्त्री खाँणले भने।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्‍मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरिरहेका छन् ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन गृहमन्त्री खाँणले आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार