अमेरिकालाई पत्र लेखेको सत्य हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा

'एसपीपीबाट फिर्ता हुन पत्र लेखिसकेका छौँ'

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।

एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् ।

यस्तै शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् । उनले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् । त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको पनि जानकारी दिदै पछि २ वटा पत्र पनि लेखेको बताए ।

‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति बिपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माको भनाइ छ । उनले पछि अमेरिकाले इन्डो प्यासिफिक रणनीतिमा जान लागेपछि सरकारलाई एसपीपीबाट फिर्ता हुन सरकारलाई पत्र लेखेको बताए ।

उनले सरकारलाई लेखेको सो पत्र देखाउने पनि बताए । ‘नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुदैन सेना त्यसको विपक्षमा रहेको छ’, उनले एसपीपी कार्यक्रमबाट कुनै हतियार, बमबारूद र पैसा नआएको पनि जनाए । ‘मानवीय सहयोगका लागि ४ वटा जहाज मात्र आएको छ’, शर्माको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार