नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५१ किलो लागू औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले बिहीबार काठमाडौंका पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा सात जना दक्षिण अफ्रिकाका महिलाहरूलाई पक्राउ गरिएको जनाएको हो ।
उनीहरू विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरवेजबाट काठमाडौं आएको खुलेको छ । उनीहरूबाट बरामद लागू औषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको छ । जसको अवैध बजार मूल्य १ अर्ब दुई करोड रहेको ब्युरोका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।