एसपीपीबारे अमेरिकी दूतावासले भन्यो : नेपालले दुईपटक निवेदन दियो, स्वीकृत गरिसक्यौं

सञ्चार माध्यममा सार्वजनिक मस्यौदा सत्य नभएको जिकिर

काठमाडौं । नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन दुईपटक निवेदन दिएपछि त्यसलाई स्वीकार गरेको अमेरिकाले प्रस्ट पारेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहक राजदूत मानुअल मिकलरले बुधबार पत्रकारहरुसँगको कुराकानीमा एसपीपीमा सहभागी हुन नेपालले दुई पटक गरेको अनुरोधलाई अमेरिकाले स्वीकृत गरिसकेको दावी गरेको हुन् ।

सन् २०१५ र २०१७ मा गरी दुईपटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको जानकारी दिएका हुन् ।अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने र हाल सञ्चार माध्यममा सार्वजनिक भएको मस्यौदा पनि सत्य नभएको प्रतिक्रिया दिएको छ ।

कार्यबाहक राजदूत मानुअलले भन ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गयौं ।’ अमेरिकाले सन् २०१९ मा उटाह नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकारेको बताए ।

मिकलरले एसपीपी कहिल्यै पनि कुनै सुरक्षा वा सैन्य गठबन्धन नरहेको भन्दै विगत २५ वर्षदेखि द्विपक्षीय फाइदालाई मध्यनजर गरेर एसपीपीले काम गरिरहेको बताए ।

‘एसपीपी विशेषत द्विपक्षीय सम्बन्ध तथा दुई देशका नागरिकहरूको सम्बन्धमा केन्द्रित छ’, उनले भने, ‘विद्यार्थी तथा व्यावसायिक आदानप्रदान, कूटनीतिक संलग्नता, सैन्य साझेदारी र व्यापारसहित साझा मान्यतामा आधारित रहेर यसले काम गर्छ ।’

अमेरिकी सेनाको एसिया प्यासेफिक क्षेत्र हेर्ने कमान्डका जर्नेल चाल्र्स एन्थोनी फ्लिनले नेपाल भ्रमण गरेर फर्किएसँगै नेपालमा एसपीपीको विषयलाई लिएर विवाद सुरु भएको छ ।फ्लिनले नेपाल भ्रमणका क्रममा यहाँको राजनीतिक र सैन्य नेतृत्वलाई एसपीपीमा हस्ताक्षर गर्न दबाव दिएको भन्दै प्रस्तावको मस्यौदासमेत सार्वजनिक भएको छ । सन् २०१५ र २०१७ मा पठाएको प्रस्ताव परिमार्जनसहित यसपटक पुनः नेपाललाई दिएको र प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा त्यसमा हस्ताक्षर हुने आशंका व्याप्त छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार