स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू नगर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री खतिवडाले स्वास्थ्य बिमा नाफा कमाउनका लागि ल्याइएको योजना नभएकाले निजी कम्पनीलाई नदिइने जवाफ दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी वर्षको बजेट तथा योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले अर्थमन्त्रीले पनि त्यसबारे जवाफ दिएको बताए ।
‘स्वास्थ्य बिमाबारे अर्थमन्त्रीले निजीलाई दिने नियत होइन भन्नुभएको थियो । बजेट आएपछि अर्थमन्त्रीसँग बुझ्न पाएको छैन । स्वास्थ्य बिमा ऐनविपरीत जाने गरी म त्यो काम गर्दिनँ र यो स्वास्थ्य बिमा नित्तान्त व्यापारिक नाफाको प्रयोजनका लागि नभएको हुनाले स्वास्थ्य मन्त्रालय त्यसमा जाँदैन ’ उनले भने ।
मंसिर महिनासम्म आफू संसद्मा नै रहने भएकाले सांसदहरूलाई स्वास्थ्य बिमा निजीलाई दिन्छ कि भन्नेमा शंका नराख्न मन्त्री खतिवडाले आग्रह गरे ।