नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसी पास भएपछि अमेरिकी सेना आउँछन् भन्ने हल्ला पुष्टि हुँदै गएको बताएका छन् ।
मंगलबार बसेको पार्टीको स्थायी कमिटिको बैठकमा खनालले अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटि नै छलफल हुनुपर्ने बताएका हुन् ।
एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको सम्मानित नेता खनालले बताए ।
उनले यो प्रस्तावलाई सम्पूर्ण जनताले, सबै राजनीतिक पार्टी र जन संगठनहरुले पनि गम्भीरतापूर्वक लिनु पर्ने र यस्ता प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गर्नुपर्ने बताए ।