बाढीको एक वर्षः विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ

मनसुन नेपालमा भित्रिसकेको छ । मनसुनको सुरुआत भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ । गत वर्ष जेठ र असारमा मस्र्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो ।

गत वर्षको ३१ जेठ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन । बाढीबाट क्षति पुगेका बाढी प्रभावितको आवास तथा बाढीले क्षति पुगेको संरचनाको निर्माण एवं पुनर्निर्माण गर्न सकिएको छैन । विशेषगरी गत वर्ष बाढीले नासोँ गाउँपालिकाका विभिन्न गाउँमा बढी क्षति पु¥याएको थियो ।

गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका प्रभावित पुराना आवासलाई सरसफाइ गरेर बस्न बाध्य छन् । मनसुनको सुरुआत भएपछि बाढी प्रभावित भयमा बस्न बाध्य छन् । मनाङको सदरमुकाम चामे नै मस्र्याङ्दी नदीको जोखिम रहेको छ । नदीमा आएको बाढीले चामेको विद्यालयलगायत विभिन्न सार्वजनिक संरचनामा क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएका संरचनाको हालसम्म पनि मर्मत सकिएको छैन ।

वर्षामा बाढीको त्रास छ भने जाडोमा चिसोले बाढी प्रभावित सकसमा जीवन जिउन बाध्य छन् । हिउँदको चिसो कठ्याङ्गिँदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशमा छन् ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पनि वर्षा बढी हुने जानकारी गराएको छ र वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी तालगाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताए ।

उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासोँ गाउँपालिकाले दिएको रु एक लाखले अस्थायी टहरा मर्मत गरी बसेका छन् । बाढीपीडितका लागि वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताए । गत वर्ष मस्र्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो ।

बस्ती सार्न विज्ञको सुझाव

नासोँ गाउँपालिका–१ तालगाउँ र सिरानगाउँ मस्र्याङ्दी नदीबाट बढी जोखिममा छन् । नदीको किनारमा आएको बाढीको जोखिममा यी दुई गाउँ नै हुन् । जोखिमयुक्त स्थानमा भएको बस्तीले मानवीय क्षति पुग्ने भनेर विज्ञले सार्नुपर्ने सुझाव दिएका छन् । जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित स्थानको खोजीमा स्थानीयवासी छन् । सुरक्षित स्थानको खोजी गर्दागर्दै स्थानीयवासी हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि जोखिमयुक्त घर मर्मत गरी बसिरहेका छन् ।

वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान लगाउन सकिएको छैन । यसले गर्दा पुख्र्यौली थातथलो नै छोड्नुपर्ने हो कि भन्ने चिन्ताले बाढी प्रभावित शान्तरुपमा बस्न सकेका छैनन् । सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरबाट घर बनाउनसमेत पाएका छैनन् । स्थानीय सरकार र प्रदेश सरकारको केही राहत रकम प्रदान गरेको थियो । जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ ।

त्रासमै बाढी प्रभावित

तालगाउँका बाढी प्रभावित त्रासमा रहेको एक वर्ष भएको छ । एक वर्ष हुँदासमेत तालगाउँवासी सुरक्षित महशुस गर्न सकेका छैनन् । स्थानीय मोहन गुरुङले बाढीले क्षतिग्रस्त बनाएको गाउँवासीले केही आरामको महशुस गरेका अवस्थामा फेरि वर्षाको भेल सुरु हुन लागेको बताउँछन् ।

लामो समयको पर्खाइपछि टिनको टहरा बनाउन उहाँले बताउनुभयो । “ढिलै भए पनि ओत लाग्न पाएका छौँ । सरकार भएको अनुभूति गरेका छौँ”, उनले भने, “अझै जोखिम छ र त्रास भने कम भएको छैन । यस वर्ष पनि नदीमा बाढी नआउला भन्न सकिदैन । त्रासले निद्रा छैन ।”

नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी गरिएको छ । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ । यहाँका आधाजति बासिन्दा तालमै बस्न इच्छुक छन् ।

विद्यालय जोखिममा हुँदा सारिँदै

बाढीपहिराको असरले हिमाली जिल्ला मनाङमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । बाढीपहिराको जोखिमका कारण अभिभावकले बालबालिका अन्यत्र सार्ने गरेका छन् । अभिभावकले जिल्ला बाहिर सुरक्षित स्थानका विद्यालयमा सार्ने गरेका छन् । मस्र्याङ्दी नदी किनारमा विद्यालय रहेकाले जोखिम मोल्न नचाहेर अभिभावकले बालबालिका सार्ने गरेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए । “बाढीपहिरोको जोखिम अझै पनि छ । कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागौँला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकामा राखेर पढाउन जिल्ला बाहिर लाने गरेकाले विद्यार्थी घटेका छन्”, प्रअ कोइरालाले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार