प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले कांग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग गर्न नमिल्ने बताएका हुन्।
उनले भने, ‘तपाईंहरूले एउटा कुरा के बुझ्नु पर्यो भने यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरूले धेरै माग गर्ने अवस्था छैन। तपाईंहरूले अरु कतिपय अति महत्वपूर्ण विषय उठाउनु भएको छ। कतिपय बजेटमा आएका पनि छन्। छैनन भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं। कोभिड १९ महामारीका कारण २ वर्षयता मुलुकको औद्योगिक, व्यावसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजार प्रभावित पारेको हामी सबैलाई थाहा नै छ।’
उनले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए। नेपालको संविधान र कानुनले श्रमिकहरूको हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिबद्ध रहेको बताए।