नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौंता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै उनले सम्झौंता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर गरे ।
उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गरे । सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महँगोमा आयात गर्नु परेको उनको भनाइ छ ।
सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महँगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै आक्रोश व्यक्त गरे । उनले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको दाबी गरे ।