लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको छ। विद्युत् प्राधिकरणले ती विद्युत् गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उत्पादन बन्द हुने जनाएको हो।
गत वर्ष असार १९ मा आएको पहिरोले ढालेको मध्य मर्स्याङ्दी–मर्स्याङ्दी१३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्न लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि ती लाइनमा जोडिएका विद्युत् गृहबाट विद्युत उत्पादन बन्द हुनेछ।
पहिरोले मध्य मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो। प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्षको साउन २ गते प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो।
अहिले त्यहाँ नयाँ टावर निर्माण गरिएको छ। आइतबार ईआरएस हटाई नयाँ टावरमा तार टाँगिनेछ। यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिनेछ। यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत् गृहबाट उत्पादन बन्द हुनेछ।
करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने प्राधिकरणले जनाएको छ। उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात पनि कम हुनेछ।