भैरहवामा रहेको होटेल सी प्रिन्ट बाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका थिए । सिद्धार्थनगर-३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग बर्थडेमा मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।
भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए । तीमध्ये यादवको मृत्यु भएको हो । समूहका चार जनालाई घटना पश्चात् र घटना घटेपछि भागेका एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
पक्राउ पर्नेमा सिद्धार्थनगर १२ बैककलोनी बस्ने वर्ष १८ वर्षीय आशिष् गैरे, सिद्धार्थनगर ८ बस्ने सैफ अलि, सियारी ७ बस्ने द्वय २० वर्षीय अजय यादव र २२ वर्षीय रामजी यादव रहेका छन् । ओमसतिया ४ का २० वर्षीय सुरज बानिया फरार रहेकोमा प्रहरीले दिउँसो पक्राउ गरेको छ ।
अर्का फरार ओमसतिया ४ बालापुरका जितेन्द्र सहानीको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका युवाहरिसँग सोधपुछ भइरहेको छ । मृतक यादवको पोस्टमार्टम भएर शव परिवारले बुझेको प्रहरी प्रवक्ता पौडेलले बताए ।
होटेल सञ्चालकका अनुसार शुक्रबार ७ जनाको समूह जन्मदिन मनाउने भन्दै होटेल आएका थिए । सोही समूह मध्येकै युवाहरूले बिहान अन्दाजी ३–४ बजे तिर काउन्टर तोडेर चोरी गर्न खोजेका थिए । तोडेको आवाज आएपछि उनीहरू मध्ये जना भाग्न सफल भएका र पाँच जना होटेलमै रहेको प्रहरीले जनाएको छ । ती मध्ये एक जनाको तेस्रो तल्लाबाट चोरी गरेर भाग्ने क्रममा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।