महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
उनका अनुसार सोही गाउँका दुई महिलालाई बोक्सीको आरोप लगाउँदै भुलन र सोमारीसहित १०-११ महिला/पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गर्नाका साथै ज्यान मार्ने उद्योग गरेको भन्दै पीडितका आफन्तले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
जाहेरीपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा भुलन र सोमारीलाई आज पक्राउ गरेको हो । उनीहरूमाथि (बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग) मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने बाँकी फरार व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार स्थानीय तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रबि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी रामले दुवै महिलालाई बोक्सी भन्दै नग्न पारेर हात, मुक्का, लातीले मरणासन्न गरी कुटपिट गरेका थिए ।
मरणासन्न गरी कुटिएकी एक महिलाको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको पीडित महिलाका देवरले जानकारी दिए ।
प्रहरीले ती महिलालाई उद्धार गरी लगेपछि गाउँभन्दा ५०० मिटर टाढा खेतमा काम गरिरहेकी अर्की महिलालाई पनि सोही समूहले खेतमै गएर शरीरका सबै कपडा च्यातेर उनीसँग पनि त्यस्तै व्यवहार गरेको पीडितले बताइन् ।