पप गायक जस्टिन बिबरको अनुहारमा पक्षघात

हलिउडका चर्चित गायक जस्टिन बिबर छुट्टी मनाउन गएका छन् । लगातार कन्सर्ट गर्ने जस्टिनले अहिले आफ्नो शरीरलाई केही समय आराम दिइरहेका छन् । यसको कारण हो – उनी दुर्लभ रोगबाट पीडित छन् ।

जस्टिन बिबरले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको बताए । जसका कारण उनको आधा अनुहारमा पक्षाघात भएको छ । इन्स्टाग्राममा आफ्नो एक भिडियो सेयर गर्दै जस्टिन बिबरले आफ्नो कन्सर्ट शो रद्द गर्नुको कारण फ्यानलाई बताए ।

उनले भने, ‘भिडियोमा पनि देख्न सकिन्छ मेरो एउटा आँखा झिम्केको पनि छैन । म मेरो अनुहारको एक छेउमा हाँस्न पनि सक्दिनँ। मेरो अनुहारको एक पक्ष पूर्ण रूपमा पक्षाघात भएको छ।’

‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ र मेरो अनुहार पक्षाघात भएको छ’ क्यानाडाली गायकले आफ्नो अनुहारको दाहिने भाग देखाइएको तीन मिनेटको भिडियोमा भनेका छन्। उनले आगामी शो शारीरिक रूपमा गर्न सक्षम नभएको बताउँदै आफ्ना फ्यानहरूलाई धैर्य गर्न आग्रह गरे।

उनले भने, ‘यो धेरै गम्भीर छ, तपाईंले देखिरहनुभएको छ। मैले यस्तो नहोस् भनेर चाहे पनि मेरो शरीरले भने मलाई केही समय आराम गर्नुपर्छ भनिरहेको छ। मलाई आशा छ हजुरहरुले बुझ्नुहुनेछ। म यो समयलाई आराम गर्न र शतप्रतिशत उर्जा लिएर फर्किनका लागि मात्र प्रयोग गर्नेछु ताकि म जे गर्नको लागि जन्मेको हुँ त्यो गर्न सकूँ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार