पहिरो खसेपछि संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ। बिहीबार अबिरल वर्षासँगै पहिरो खस्दा भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको हो।
संखुवासभाको मकालु गाउँपालिका ३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालय, संखुवासभाका इन्जिनियर दीपेश रजकले जानकारी दिए।
बुधबारदेखि नै संखुवासभामा वर्षा भइरहेको छ। वर्षा नरोकिँदा पहिरो हटाउन नसकिएको रजकले बताए। सडकको पहिरो हटाउन अझै तीनचार दिन लाग्ने अनुमान गरिएको छ।
मुख्य सडक नै अवरुद्ध भएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा दुई दिनदेखि यातायात सेवा बन्द भएको छ। गाडी नचन्दा स्थानीयवासी अत्यावश्यक कामको लागि पैदल हिँड्न बाध्य छन्।