सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन तथा कानुनी कारबाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसदहरूले नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
महोत्तरीका सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीविरुद्ध नयाँ पत्रिका दैनिकले गरेको रिपोर्टिङ प्रशंसनीय रहेको, तर राज्य संयन्त्र अझै मिटरब्याजीमाथि कारबाहीका लागि तयार नरहेको बताए । ‘नयाँ पत्रिकामा लगातार समाचार आएका छन्, म धन्यवाद दिन चाहन्छु । सप्तरीको खडक नगरपालिका, धरान उपमहानगरपालिका– १९ धनकुटे चोकको समस्या र सप्तरीको बोधेपुरको समस्या समाचारमा उठाइएको छ ।
यस्तै, किर्ते तमसुक बनाएर लाखौँ ऋण दिएका विपन्न नागरिकबाट करोडौँ असुल्ने श्याम परदेशी र रामबाबु राय यादवजस्ता खुँखार मिटरब्याजी साहुकारले सर्लाहीमा गरेको उत्पीडनको फेहरिस्त लामो छ,’ सांसद पोखरेलले भने, ‘यो वर्ष गृह मन्त्रालयले अपराधको सूचीमा मिटरब्याजीलाई सामेल गरेको छ । यो मधेसको मात्रै नभएर देशको समस्या हो । तर, उनीहरूलाई कारबाही गर्न कानुन, पुलिस, प्रशासन र अदालत सबै तयार भइसकेका छैनन् ।’
सांसद पोखरेलले मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रेका सर्लाहीका डाचाराज वाग्लेको रहस्यमय मृत्यु भएको, तर राज्यबाट छानबिनका नाममा औपचारिकता पूरा गरेको बताए ।