एसियन कप छनोट : नेपाल र कुवेतको खेल आज

एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो । यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो ।

जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन् । त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशलाग्दो प्रदर्शन गरेका थिए ।

यता, बलियो मानिएको घरेलु टोली कुवेत भने मैदानमा बाहिरको खराव आवाजलाई मैदानमा समेत निरन्तरता दिँदै दुःखद् नतिजा बेहोर्न बाध्य भयो । टिम छनोटबाटै विवादमा रहेको कुवेती टिमले मैदानमा समेत राम्रो प्रभाव पार्न सकेको छैन ।

औसत ३० उमेरका खेलाडी सामु नेपालका औसत २२ खेलाडीले जुझारु प्रदर्शन गर्नेमा प्रशिक्षक अब्दुल्लाह विश्वस्त छन् । नियमित र अनुभवी १० खेलाडी विना कुवेतमा रहेको नेपाली टिमको यस खेललाई परीक्षाको रुपमा समेत हेरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार