नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत टोपे खोलामा फेरी पहिरो झरेपछि सवारीसाधन ठप्प भएको छ । शुक्रबार राति फेरि ठूलो पहिरो झरेपछि सडक पूर्णरुपमा ठप्प भएको हो । अविरल वर्षाका कारण जिल्लाको इच्छाकामना गाउँपालिका ६ मा पर्ने टोपे खोलामा शुक्रबार राति ९ बजे पुन–पहिरो झर्दा दुईतर्फी रुपमा बाटो अवरुद्ध भएको बताइएको छ ।
प्रहरी टोली खटिए पनि तत्काल पहिरो पन्छाउन सक्ने अवस्था छैन । शुक्रबार बिहान पौने ९ बजेतिर सो ठाउँमा पहिरो जाँदा घण्टौं सवारी जाम भएको थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदा सो सडक हुँदै यात्रा गर्नेहरुको बिजोग भएको छ । आज नारायणगढ–मुग्लिन सडकखण्डबाट सकेसम्म यात्रा नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
आँबुखैरेनी–मुग्लिन सडकखण्ड पनि बन्द
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक पनि आज बन्द रहने भएको छ ।अबिरल बर्षाका कारण पृथ्वी राजमार्गका बिभिन्न ठाउँमा पहिरो गएको र सडक भासिएको थियो । आँबुखैरेनी–४ पावर हाउस नजिक आज बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि भोलि बिहानसम्म बन्द गरिएको छ ।
बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।डेढरदुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् ।