आफूहरुले कुनैपनि हालतमा ओलीसामू आत्मसमर्पण नगर्ने घनश्याम भुसालको उद्घोष

खनाल–नेपाललाई गाली गरेर एमाले विभाजन गर्न लागेको उनको टिप्पणी

नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् ।

माधव नेपाल निकट रहेका नेता भुसालले हिजो प्रचण्डलाई र आज झलनाथ खनाल-माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले भने, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो, आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’

उनले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् । ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन,’ उनले लेखेका छन् ।

खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा ओली फर्किनुपर्ने माग उठाउँदै आएको छ । सो अडानमा ओली असहमत नहुँदा पार्टी विभाजित अवस्थामा पुगेको छ भने थप कदम चाल्ने चेतावनी नेपाल समूहले दिँदै आएको छ ।

Loading...