बर्दिया घटना : सहमतिपछि नविनाको शव आफन्तले बुझे

सोमबार बर्दियामा प्रहरीको गोली लागेर मृत्यु भएकी एक किशोरीका आफन्तले आठ बुँदे सहमतिपछि शव बुझेका छन् ।सोमबार बिहान करिव १० बजे मधुवन नगरपालिका–२ की ४१ बर्षीया अस्मिता थारु खेतबारीमा घाँस काट्ने लागेको बेला बाघको आक्रमणबाट घाइते भएकी थिइन् ।

वन्यजन्तुबाट आफूहरु असुरक्षित रहेको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा सोमबार साँझ आन्दोलनकारीलाई तितरवितर पार्ने क्रममा मधुवन–२ को ओराली बजारमा सुरक्षा निकायबाट चलाइएको गोली लागेर सोही वडाकी १८ वर्षीय किशोरी नविना चौधरीको मृत्यु भएको थियो ।

सो घटनाबारे संसदमा आवाज उठ्यो । अन्ततः बुधबार साँझ आठ बुँदे सहमतिपछि तत्कालका लागि विवाद साम्य भएको छ ।

मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले तत्कालका लागि विवाद साम्य भएको जानकारी दिइन् । उनका अनुसार घटनास्थल ओराली बजार क्षेत्रमा नविनाको शालिक निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने, उनलाई सहिद घोषणा गर्न केन्द्रीय सरकारलाई आग्रह गर्ने, क्षतिपूर्तिवापत २० लाख रूपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गर्ने, स्थानीय सरकार अर्थात् मधुवन नगरपालिकाले एक लाख रूपैयाँ प्रदान गर्ने जस्ता आठ बुँदे सहमति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार