फोहोर व्यवस्थापनमा सहयोग गर्ने फ्रान्सेली राजदूत जीलको प्रतिबद्धता

काठमाडौं महानगरका प्रमुख बालेन साहसँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेट गरेका छन्। प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो ।

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।’ प्रमुख साहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ।’

भेटका क्रममा राजदूत बुर्बाओले सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए।

‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ।’ राजदूत बुर्बाओले भने। उनले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा पनि चासो राखेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार