आईजीपीद्वारा विश्वराज पोखरेलको बिदा अस्वीकृत

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका हुन् ।

आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत धाइरहेका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले १० दिन विदा मागेका थिए ।

सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए । उनले लिएको विदा मंगलबारबाट सकिएको छ । तर उनले बुधबार सहयोगीमार्फत पुनः १० दिन विदा माग गर्दै निवेदन दिएका थिए ।

प्रहरी महानिरीक्षक सिंहले उनको विदा अस्वीकृत गरेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका विश्वराजको मुद्दा विचाराधीन अवस्थामा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार