बागलुङमा थप दुई संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिकका एक पुरुष र ढोरपाटन नगरपालिकाकी एक महिला गरि दुई जनाको मृत्यु भएको हो ।

ढोरपाटन नगरपालिका ४ की ६६ वर्षीया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो भने बागलुङ नगरपालिकाका ७७ वर्षीया पुरुषको मंगलबार साँझ होम आईसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए ।

६६ वर्षीया महिलाको मंगलबार बिहान साढे दश बजे मृत्यु भएपनि उनको पिसिआर रिपोर्ट साँझ मात्रै आएको घिमिरेले बताए ।

बागलुङका ७७ वर्षीय पुरुष २२ गते गण्डकी मेडिकल कलेजमा हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पोखराबाट फर्केपछि होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए ।

६६ वर्षीया महिलामा कोरोना सँग मिल्दाजुल्दा लक्षण र श्सप्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट ल्याएर सोमबार धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार