वैदेशिक रोजगार बचत पत्र सुरक्षित लगानी र उचित प्रतिफलका लागि हो : पोखरेल [अन्तर्वार्ता]

नेपाल राष्ट्र बैङ्कले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरी पाँच बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । राष्ट्र बैङ्कले देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरूका लागि उक्त बचतपत्रको आवेदन खुला गरेको हो । चालु आर्थिक वर्षको लागि सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बेच्न लागेको छ ।

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउन तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी वैदेशिक रोजगार बचतपत्र जारी गरिएको हो । यसैसन्दर्भमा बचतपत्रको उद्देश्य, आवश्यकता र फाइदाका विषयमा नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेलसँग टिभी अन्नपूर्णकर्मी शर्मिला सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल राष्ट्र बैङ्कले हालै  वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । यो खास  के हो ?

नेपाल सरकारले आन्तरिक  ऋण उठाउने क्यालेन्डर अनुसार ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेका छौँ । यो बिशेषगरी विदेशमा रहेका नेपाली तथा  गैर आवासीय नेपालीलाई लक्षित गरेर जारी गरिएको छ । यसमा मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यका नाममा खरिद गर्न सकिन्छ ।

यो बचतपत्रको उदश्य के हो ? 

यसको उद्देश्य भनेको नेपाल सरकारको बजेटमा वित्तीय स्रोत कसरी जुटाउने भन्ने राखिएको छ । जस्तो अहिले जारी भएको बजेटमा राजश्वबाट सङ्कलन भएको रकम, दातृ निकायबाट आउने रकम, आन्तरिक ऋणका रूपमा उठाउन सकिने रकम र वैदेशिक ऋणलगायत सबै हिसाब गरेर मात्र खर्चको मेसो जुट्छ । यसै सन्दर्भमा यो वैदेशिक रोजगार बचतपत्रको रकम नेपाल सरकारले आफ्नो बजेटरी सर्पोटको लागि प्रयोग गर्छ ।  यस्तै यसको मुख्य  उद्देश्य भनेको विदेशमा आर्जित रकमाको बचतमा प्रोत्साहन, वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने हो  ।  साथै यो देश विकासमा योगदान पनि हो ।

यस बचतपत्रमा लगानी गर्दा पाउने ब्याजका प्रावधान के के छन् ? 

यो पाँच बर्षे बचतपत्र हो ।  ५ वर्षसम्म यो रहन्छ ।  वैदेशिक रोजगारी  बचतपत्रमा हामीले १२ दशमलव ५० प्रतिशत  ब्याज उपलब्ध गराउँछौँ । यो बचतपत्रमा लगानी गरेपछि उहाँहरूको हातमा प्रमाणपत्र हामीले उपलब्ध गराउँछौँ । ६–६ महिनामा उहाँहरूले सिधै आफ्नो बैङ्क खातामार्फत ब्याज आम्दानी प्राप्त गर्न सक्नुहुन्छ  । ब्याज आम्दानीमा नेपाल सरकारको जुन करसम्बन्धी नियम हुन्छ, त्यसअनुसार हाललाई ५ प्रतिशत ब्याज आम्दानीको कर लाग्छ । त्यो कर कट्टा गरेर बाँकी रकम उहाँहरूले प्रत्येक ६–६ महिनामा पाउनुहुन्छ र पाँच बर्षको समय पुरा भएपछि उहाँहरू ब्याज तथा साँवा रकम पाउनुहुन्छ ।

यस बचतपत्रमा कसरी आवेदन दिन सकिन्छ ? 

आवेदनका लागि हामी एकदमै सजिलो व्यवस्था गरेका छौं ।  यस बचतपत्रमा अनलाइनबाटै आवेदन दिन सकिन्छ । यसमा राष्ट्र बैङ्कको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । आवेदनका लागि https://obss.nrb.org.np/saving/ साइटमा गई फारम प्राप्त गर्न सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैङ्क शाखामा बुझाउनु पर्ने हुन्छ । त्यसका लागि हामीले १३ वटा बैङ्कलाई बजार निर्माताका रूपमा राखेका छौ ।  सिटिजन बैङ्क, नबिल  बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, सनराइज बैङ्क, सिद्धार्थ  बैङ्क, सेन्चुरी बैङ्क, एनएमबी बैङ्क,  प्रभुमनि ट्रान्सफर, सेवा रेमिट, सिटी एक्सप्रेस र आइएमइ लिमिटेडमार्फत आवेदनको लागि सहजता गरिएको छ ।

यसमा कति रकमसम्म लगानी गर्न सकिन्छ ? 

हामीले यो बचतपत्र ५० करोड भनेका छौँ ।  त्यसैले यसमा कसैले पनि ५० करोड भन्दा धेरै आवेदन दिने कुरा भएन ।  कम्तिमा १० हजार लगानी गर्न सकिन्छ । धेरैमा ५० करोडसम्म लगानी गर्न सकिन्छ ।

बचतपत्रलाई धितो राखेर कुनै पनि वित्तीय संस्था वाट रकम झिक्न पनि सकिन्छ  कि सकिँदैन ?

यो भनेको जस्तो हामीसँग सुन छ भने सुन धितो राखेर रकम निकाल्न सक्छौँ । त्यस्तै यो एउटा सरकारको व्यवस्था भएकाले यो पूर्ण रूपमा सुरक्षित हुन्छ । भोलिका दिनमा सरकारले यो पैसा दिन सक्दैन कि भन्ने हुँदैन । यसमा  वैदेशिक रोजगार बचतपत्रमा भएको लगानीको समयमै सावाँ ब्याज भुक्तानी गर्नुपर्छ । त्यसैले  यो सुरक्षित लगानी हो । त्यसैले बैङ्क वित्तीय संस्थाहरूले वैदेशिक रोजगार बचतपत्र धितो राखेर नियमानुसार त्यो लगानी रकमको धैरैमा ९० प्रतिशतसम्म ऋण दिन सक्छन् र लगानीकर्ताले बचतपत्र धिता राखेर ऋण लिनसक्नुहुनेछ ।

यसअघि पनि यहाँहरूले वैदेशिक रोजगार बचतपत्र ल्याउनुभएको थियो तर त्यसमा सोचेजस्तो आवेदन परेको थिएन । यसपटक के छ अवस्था ? 

हामीले यो वैदेशिक रोजगार बचतपत्र निष्कासन सुरु  गरेको २०६७ सालदेखि हो  । हामीले बजार रहेको ब्याजदर भन्दा धेरै माथि जान मिल्दैन । यो भन्दा अगाडीका वर्षमा हामीले बचतपत्र निकाल्दै गर्दा ब्याजदर पनि केही कम थियो । यो भन्दा अगाडी जारी गरिएको बचतपत्रमा बढीमा ११ प्रतिशत मात्रै ब्याज अफर गरिएको थियो ।  यस पटकको ब्याजदर भने  यो ब्याज रकम हाल बैङ्क तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी छ ।  यसपटक राष्ट्र बैङ्कले १२.५ प्रतिशतको ब्याजदर दिएको । यो भनेको एकदमै सुरक्षित लगानी र अत्यन्तै धेरै  ब्याजदर भएकाले अघिल्ला वर्ष जस्तो कम आवेदन पर्ला कि भन्ने कुनै गुन्जाइस छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार