गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा निर्णायक, केन्द्र र प्रदेशसभा सदस्य मतको बाझियो

विपक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाका थापाले काँग्रेसलाई साथ नदिने

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजसम्म बहुमतको सरकार दाबी गरेर आउन आह्वान गरेकी थिइन् ।

कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनले जनमोर्चालाई साथमा लिएर मंगलबार नै दाबी पत्र बुझाउने बताएका थिए । तर सरकार गठनको अन्तिम दिन आइपुग्दा सम्म कांग्रेस नेतृत्वको मोर्चाले आवश्यक हस्ताक्षर जुटाउन सकेको छैन । अर्थात् निर्णायक भनिएको ३ सांसद सहितको जनमोर्चाले अहिलेसम्म हस्ताक्षर दिएको छैन ।

जनमोर्चाले साथ नदिने हो भने कृष्णचन्द्र पोखरेल नेपालीको नेतृत्वमा सरकार बनाउने विपक्षी मोर्चाको सपना तुहिन्छ । पृथ्वीसुब्बा गुरुङ सदनको ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा दोहोरिनेछन् ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई नै साथ दिने निर्णय गरेका थिए ।

कांग्रेस नेतृत्वको मोर्चामा जनमोर्चाका यहाँका सांसदले केन्द्रकै निर्णय मानेर आफूहरुलाईसाथ दिनेमा आशावादी छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आज बहुमतको सरकार बन्नेमा आफू ढुक्क रहेको बताउँछन् । ‘म ढुक्क छु, आज बहुमतको सरकार बन्छ, जनमोर्चाका साथीहरुले केन्द्रको निर्णय नै मानेर हामीलाई साथ दिनुहुन्छ,’ उनले भने ।

कांग्रेस सांसद कुमार खड्का पनि बहुमतको सरकार बन्नेमा आशावादी छन् । सांसदहरु पार्टीको निर्णयमा चल्ने भएकाले केन्द्रले गरेकै निर्णयलाई यहाँ अक्षरस पालना गरिने उनी बताउँछन् ।

‘पार्टीले पठाएर हामी सांसद भएका हौं, उहाँहरु पनि त्यही हो, केन्द्रकै निर्णय मानेर यता आउनुहुन्छ, आउनुभएन भने फेरी पृथ्वीसुब्बा नै बन्ने पनि सम्भावना छ,’ उनले भने ।

प्रदेशमा बहुमत दाबी गर्न ३१ सांसदको आवश्यकता पर्छ । एमालेसँग २८ सांसद छन् । कांग्रेस, माओवादी र जनता समाजवादीसँग २९ ९सभामुख सहित० छन् । यसका लागि ३ सदस्य रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा निर्णायक हुनेछ ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गरेकी छन् । तर प्रदेशसभा संसदीय दलका नेता समेत रहेका थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पुष्टि गरे । यसबाहेक मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदानका बेला विरामी भएको भन्दै अस्पताल भर्ना भएका खिम विक्रम शाहीले समेत अन्तिम समयमा अनपेक्षित निर्णय लिन सक्ने धेरैको बुझाई छ । ६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार