कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने अर्थमन्त्री शर्माको घोषणा

विमानस्थल बनाउन आफू जे पनि गर्न तयार रहेको भनाई

अर्थमन्त्री जर्नादन शर्माले सरकारले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेका छन् ।

वीरगञ्जमा शनिबार आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री शर्माले यस्तो बताएका हुन् । जबकि यसअघि नै सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो ।

अर्थमन्त्री शर्माले भने उक्त विमानस्थल सरकारले बनाउने घोषणा गरेका हुन् । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ, यसै वर्ष यसको निर्माण सुरु हुन्छ, यसको लागि म जे पनि गर्न तयार छु’ उनले भने, ‘यो अर्थमन्त्री जर्नादन शर्माको प्रतिबद्धता हो, यो शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’

अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरे । उनले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए ।

‘वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना चलाउने हो, चलाउनु पर्छ,’ उनले भने, ‘यसको तयारी हामीले बजेट भाषण भन्दा ५/७ महिना अघिदेखि नै सुरु गरिसकेका छौं, यी कारखाना यहाँका किसान र व्यवसायीको हितमा छन्, हामीलाई कृषिमा आत्मनिर्भर बन्नु छ ।’

यस्तै तयारी वस्तु र तिनको कच्चा पदार्थका भन्सार दरबन्दीमा १ तह अन्तर हुनु पर्ने वीरगन्जका उद्योगी व्यवसायीको मागलाई बजेट भाषण मार्फत् सम्बोधन गरिएको दाबी गर्दै उनले निर्यातजन्य उद्योगलाई ८ प्रतिशत सहुलियत दिने सुविधाको उपभोग गर्न पनि उद्योगी व्यवसायीलाई आह्वान गरे । मन्त्री शर्माले विद्युत छुट सुविधाको पनि उपभोग गर्न व्यवसायीलाई आग्रह समेत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार