मध्यरातमा विज्ञप्ति निकाल्दै महन्थले भने- नयाँ सरकार गठनमा सहभागी हुँदैनौं

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् । सोमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको र सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको बताएका हुन् ।

‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो,’ ठाकुरले भनेका छन् ।

उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए भने यादव पक्षका १५ जनाले ओलीको विपक्षमा मत दिएका थिए । यससँगै जसपाभित्र नयाँ सरकार गठनका विषयमा विवाद देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभामा आफ्नो विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले सरकार बनाउने प्रकृया सुरु गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेभित्र आफ्नो सरकार निर्माणका लागि दावी पेस गर्न आह्वान पनि गरिसकेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार