मोटरसाइकल चोरी गरेको आरोपमा दुई नाबालकसहित ८ जना पक्राउ

झापामा मोटरसाइकल चोरीमा संलग्न दुई नाबालकसहित थप ८ जना पक्राउ परेका छन्।दुई दिन अघि मात्र चोरिएका चार वटा मोटरसाइकलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रबाट विगत केही महिनादेखि मोटरसाइकल चोरी घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ५ निवासी १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ निवासी १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा नगरपालिका ८ निवासी १८ वर्षीय समीर मियाँ, आहिल ग्यारेजका सञ्चालक सप्तरी जिल्ला टिकुली ५ निवासी १७ वर्षीय करण महमद, गौरीगन्ज गाउँपालिका ५ निवासी १८ वर्षीय ओमप्रकाश यादव, इलाम जिल्ला चुलाचुली बताउने १८ वर्षीय राहुल श्रेष्ठको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

घटनामा संलग्न १४ र १५ वर्ष उमेरका दुई जना नाबालक रहेको उनले बताए। बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त टोलीले सूक्ष्म रुपमा खोजतलास सुरु गरेको थियो।

सोही क्रममा जेठ १८ गते अर्जुनधारा ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा १० स्थित विमल हुमागाईंको घर सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा, जिल्लाका अन्य स्थानबाट ५ वटा र इलामबाट एउटा गरी १२ वटा चोरी भएका मोटरसाइकल बरामद गर्न प्रहरी सफल भएको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार