स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत गणेश पाण्डेले बताए । उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ ।
त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उनकाअनुसार भद्रपुर नगरपालिका भने आज निर्वाचन भएको छ । पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच महिला सदस्य निर्वाचित भएका छन् भने गाउँपालिकामा चार महिला सदस्य र दुई अल्पसङ्ख्यक तथा दलित निर्वाचित भएका छन् ।
बाँकी रहेको स्थानमा समेत भोलिसम्ममा निर्वाचन गरिसकिने उनको भनाइ थियो । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले भाग लिनेछन् ।