राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

३० गतेभित्र नयाँ प्रधानमन्त्रीको दाबी गर्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका छन् ।

विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (नेपाल) को उपेन्द्र यादव पक्ष सहमत छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार