षड्यन्त्रकारीहरूले भ्रम फैलाए, कुनै प्रलोभनमा पर्दिनँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।

बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन् ।

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उनको भनाइ थियो ।

त्यस्तै, अध्यक्ष नेपालले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे । उनले भने, ‘यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन । षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।’

उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार