नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् –
राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानी सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ ।
फुकुवाबाट मनिलासम्मको उडान भर्ने क्रममा राजा वीरेन्द्र अचानक ककपिटमा छिर्नुभयो । त्यति बेला म डोप्लर नेभिगेसन प्रणाली प्रयोग गरिरहेको थिएँ । उहाँले मलाई ‘क्याप्टेन यो के गरिरहेको’ भनेर सोध्नुभयो । मैले उहाँलाई डोप्लर नेभिगेसनको बारेमा बताउँदै भनेँ । त्यति सुनेपछि उहाँले मलाई सोध्नुभयो– ‘तिमीले एअरो म्याग्नेटिक सर्भे गर्न सक्छौं ?’ म पनि के कम ? झट्टै भनिहालें, सक्छु सरकार । त्यसपछि राजा वीरेन्द्रले भन्नुभयो– ‘म तिमीले यो सर्भे गरेको हेर्न चाहन्छु क्याप्टेन ।’
राजाको मुखबाट यस्तो कुरा सुनेपछि मेरो खुसीको ठेगान नै रहेन । त्यो क्षण मलाई आफैंमाथि गर्व भयो, यस्तो लाग्यो, मानौं म त साँच्चैको यो देशको सच्चा छोरो रहेछु । यो मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान थियो । त्यति बेला मैले यो कामको लागि कसैलाई पनि सोध्नुपर्ने वा कसैको स्वीकृति लिनुपर्ने वा कसैलाई खुसी पार्नुपर्छ भन्ने नै लागेन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।