राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन् । बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घटिबढी भएमा देशको अर्थतन्त्र धरासायी हुने बताएका हुन् ।
‘ठूला ठूला बिल्डिङहरू बनिरहेका छन्, तर ती बिल्डिङहरूमा भाडा तिरेर बस्न सक्ने क्षमतामा ह्रास भइरहेको छ,’ उनले भने ‘अहिले लखपति र करोडपति भएकाहरू पनि सडकमा पुग्न सक्ने खतरा छ ।’ अहिले देशमा रहेका ४० लाख भन्दा बढी सृजनशील युवाहरू विदेशिनु ठूलो समस्या रहेको उनी बताउँछन् ।
देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित हुनुपरेकोमा अवस्था चिन्ताजनक रहेको उनले बताए । उनले धर्म परिवर्तनको डढेलोले नेपालको राष्ट्रिय पहिचान र एकतालालाई अप्ठ्यारो पारेको बताए । ‘नेपालमा धार्मिक र सांस्कृतिक क्षेत्रमा जसरी आक्रमण भइरहेको छ, त्यसमा म चुप लागेर बस्न सक्दिन,’ उनले भने ‘म कुनै धर्मको विरोधी होइन तर हाम्रो पहिचान संकटमा पर्दै छ, राष्ट्रिय अस्तित्वलाई खतरा छ ।’
सनातन धर्म मानव जीवनको दर्शन र पद्धतिसँग गाँसिएको कुरा भएको बताउँदै थापाले यसप्रति योजनाबद्ध र संगठित रूपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरे । देशमा भ्रष्टाचारको महारोगबाट सम्पूर्ण समाज ग्रस्त भएको उनी बताउँछन् ।