अर्थमन्त्री जनार्दन शर्माले बजेट चुनाव केन्द्रित नभएको र बजेट बनाउँदा आफूले चुनाव सोच्दै नसोचेको प्रस्ट पारेका छन् । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताए ।
‘इन्डक्सन चुलो’ वितरण गरेर ‘भोट साट्न खोजेको’ आरोप लगाइएको तर्फ केन्द्रित हुँदै उनले भने, ‘यो निर्वाचनसँग सम्बन्धित कुरा होइन । प्रतिपक्षलाई पनि सँगै लगेर बाँडौँला । भोट साट्ने कुरा छैन, ढुक्क हुनुभए हुन्छ ।’
उनले कतिपय कुरा समावेश गर्न छुटे पनि सरकारको प्राथमिकतामा रहेको प्रस्ट पारे । निजी क्षेत्रलाई विकासको साझेदारका रुपमा लिएको भन्दै उनले स्वास्थ्य क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए । यस्तै, कृषिमा पनि सरकारले प्राथमिकताका साथ कार्यक्रम राखेको जनाए ।
उनले पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताए । उनले शिक्षामा सरकारले बजेट बढाएको तर्क गर्दै हरेक युवालाई सीपयुक्त बनाउने कार्यक्रम ल्याइएको बताए ।